कुनै समय नेपालमा एउटा रेडियो, एउटा टेलिभिजन र दुई वटा राष्ट्रिय स्तरका पत्रिका थिए। बिहान, दिउँसो, साँझ निस्कने केही साप्ताहिक र दैनिक पत्रिका थिए, मोफसलबाट पनि पत्रिका त निस्कन्थे तर समाचार पढ्नकै लागि पर्खेर बस्नुपर्ने स्थिति थियो।
अब त्यो अबस्था रहेन। प्रविधिको विकासले मिडिया संसारभर व्यापक रुपमा विस्तार भएको छ। नेपालमा पनि त्यसको प्रभाव परेको छ।
कुन पढ्ने, कस्तो पढ्ने, कुन सुन्ने, कुन हेर्ने रोज्न पाइएको छ। राष्ट्रियस्तरका पत्रपत्रिका, अनलाइनको पनि विस्तार भएको छ। सूचनाको स्रोत र प्रयोग दुवै विस्तार भएको छ।
मिडियालाई मैले दुई प्रकारमा छुट्याउने गरेको छु, अनौपचारिक र औपचारिक। अनौपचारिक भनेको सोसल मिडिया हो भने औपचारिक भनेको पत्रपत्रिका, टिभी, रेडियो अनलाइन।
पछिल्लो समय युट्युब, ट्विटर, इन्स्टा, टिकटक, फेसबुक इन्टरनेटको सुविधा भएकाहरुले सहजै चलाउन सक्ने भए। चलाउन नजान्नेले पनि अरुले चलाएको देख्न सक्ने भए। औपचारिक तथा अनौपचारिक मिडियाको प्रयोग बढ्दै गएको देखिन्छ। २०/२५ वर्षको तथ्यांक हेर्ने हो भने सञ्चार माध्यमको धेरै विस्तारित भएको देखिन्छ। अनौपचारिक मिडियामा व्यक्तिले प्रस्तुत गर्ने माध्यम पाइरहेका छन् भने औपचारिक मिडियाबाट महत्वपूर्ण सूचना पाइरहेका छन्।
मिडियामा राजनीति हावी
२०४६ सालको बहुदलपछि हेर्दा राजनीति मात्रै नभएर विषयवस्तुको दृष्टिकोण हेर्दा सामाजिक विषयवस्तु, सामाजिक मुद्दाहरुले प्रवेश पाएको त देखिन्छ तर स्पष्ट देखिने नै गरी राजनीति हावी भएको देखिन्छ।
सामाजिक सञ्जालमा सामाजिक विषय, रीतिथिति, कुरीतिबारे चर्चा-परिचर्चा भएको हामी देख्छौं। सामाजिक सञ्जालमा त मनोआकांक्षा नै प्रकट भएको देखिन्छ। हिजो सार्वजनिक सञ्चार सामाजिक प्रयोगका लागि हुन्थ्यो भने अहिले व्यक्तिगत मनोकांक्षा पूरा गर्ने साधन भएको छ। प्रेम र सद्भावको समिश्रण भएको देखिन्छ। हामी सञ्चार माध्यमका प्रयोगकर्ता र उपभोक्ता दुवै हौँ। यसरी हेर्दा सञ्चार माध्यमको संरचनामा ठूलो फेरबदल भएको देखिन्छ।