चौथो अंगमा दिलभुषण : टिभी पत्रकार अल्छी, सञ्चालक बोधो
पञ्चायतकालमा खुलेको नेपाल टेलिभिजनले गणतन्त्रसम्म आइपुग्दा पनि आफ्नो तौरतरिका बदलेको छैन। जो सत्ता र शक्तिमा थिए, उसैलाई समर्थन गर्ने मात्र काम गर्यो नेपाल टेलिभिजनले। सवाल-जवाफ गरेर सरकार र यसका अंगलाई जवाफदेही बनाउन सक्थ्यो, तर त्यो काम गरेन।
सरकारको कामको जानकारी दिने उसको दायित्व हो। सँगै, नागरिकलाई आलोचनात्मक तरिकाले सु-सूचित गर्ने जिम्मेवारी पनि हो। तर नेपाल टेलिभिजनले त्यसो गरेन। विस्तारै निजी क्षेत्रमा पनि टेलिभिजन खुल्न थाले। इमेज टिभीको सानो इकाइ थियो। कान्तिपुर पब्लिकेसनले पत्रिका निस्केको १० वर्षपछि कान्तिपुर टेलिभिजनको सुरुवात गर्यो। त्यतिबेला म कान्तिपुर दैनिकमा काम गर्थें। १० वर्ष भइसकेको थियो काम गर्न थालेको। द्वन्द्वकालमा रोल्पा, रुकुम, सल्यान र जाजरकोटमा बसेर रिपोर्टिङ गरें। पत्रिकामा काम गर्दागर्दै टेलिभिजनमा काम गर्ने अफर आयो। अनि कान्तिपुर टेलिभिजनमा संस्थापक न्युज को-अर्डिनेटर भएर काम गरें। त्यो बेला टेलिभिजनको लेआउट, डिजाइनदेखि न्युज रिडिङसम्म कसरी गर्ने भनेर एक खालको ‘सेट अप’ बसाइयो। कान्तिपुर टेलिभिजनमा अहिलेसम्म पनि त्यही तरिका अपनाइएको छ।